Logo

कोशी प्रदेश सभा बैठक अनिश्चित



फाइल तस्बिर

विराटनगर, ४ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभा बैठक अनिश्चित भएको छ ।

सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै बिहान काठमाडौँतर्फ लागेकी छन् । उनी विराटनगरबाट काठमाडौँतर्फ लागेपछि सांसदहरु अलमलमा परेका हुन् ।

उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने अङ्क गणितीय जटिलता छ । सभामुख रहेका बाबुराम गौतमले यसअघि नै थापाको मुख्यमन्त्री पद जोगाउन राजीनामा दिएका छन् । सभामुख र उपसभामुख दुवै नहुँदा प्रदेशसभा ज्येष्ठ सदस्यले चलाउने प्रावधान छ ।

एमालेले उपसभामुखलाई अनुपस्थित गराउने डरका कारण सत्ता गठबन्धनले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई यसअघि नै मन्त्रीमा नियुक्त गरिसकेको छ । एमाले र राप्रपाले पनि मण्डलपछिका आठ जना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर सत्ता गठबन्धन दलकै सांसदलाई प्रदेश सभाको अध्यक्षता गर्ने अवस्था सिजना गर्न लागेका छन् । मण्डलपछिका ज्येष्ठ सदस्य रहेका एमाले र राप्रपाका सांसदहरुले आइतबार नै प्रदेशसभा सचिवालयमा बिदा मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्