Logo

कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपात



काठमाडौं, १५ कार्तिक । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभाव कमजोर हुँदै गएको छ । शुक्रबार रातिदेखि यसको प्रभाव कमजोर हुँदै गएको महाशाखाले जनाएको हो ।

महाशाखाले हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।

जसका कारण आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भागहरुमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।

दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति भने कोशी र मधेसमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्