काठमाडौँ, १७ भदौ । कोशी सरकारविरुद्ध परेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
यसअघि शुक्रवार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो । आज आइतबार रिटमाथि सुनुवाइ गर्दै संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।
कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्ष गरेका इस्माइल मन्सुरीले पनि मत दिएका थिए । सभाध्यक्षले संविधान विपरीत मत दिएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले भदौ ५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । भदौ ७ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कोशी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका थिए ।







