Logo

कोशी सरकारविरुद्धको मुद्दा आजदेखि पुर्ण इजलासमा सुनुवाइ हुँदै



काठमाडौँ, १८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटमाथि आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो । अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुनेछ ।

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सभामुखको भूमिकामा रहेका व्यक्तिले बराबर भएको अवस्थामा बाहेक अन्य अवस्थामा मतदान गर्न नमिल्ने दाबी कार्कीले रिटमा गरेका छन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा ४६ सांसदमात्र हुने भएपछि ४७ सदस्य पुर्याउन प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्‍राइल मन्सुरीले मतदान गरेका थिए ।

यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले थापा नेतृत्वको सरकारलाई दीर्घलीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्