विराटनगर, ५ भाद्र । कोशी सरकारविरुद्ध नेकपा (एमाले) सर्वोच्च अदालत जाने भएको छ ।
मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा विश्वासको मत लिएको निष्कर्ष निकालेको एमाले सर्वोच्च अदालत जाने भएको हो ।
मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा कोसी एमाले संसदीय दलका नेता हिक्मत कार्कीले विभिन्न क्षेत्रका विज्ञहरूसँगको परामर्शपछि आफूहरू सर्वोच्च जान लागेको जानकारी दिएका हुन् ।
‘हामीले संविधानका विज्ञहरूसित, वरिष्ठ अधिवक्ताहरू र विभिन्न क्षेत्रहरूका व्यक्तित्वहरूसित एक खालको परामर्श गर्यौँ । अब सरकारको विपक्षमा हामी सर्वोच्च अदालत जाने तय गरेका छौँ,’ कार्कीले भने ।
सोमबार मुख्यमन्त्री थापाले सभाध्यक्षको समेत मत जोडेर विश्वासको मत लिएका थिए । यसअघि सभामुखको समेत समर्थनमा थापा मुख्यमन्त्री बनेपछि एमाले सर्वोच्च गएको थियो ।







