विराटनगर, ३० चैत । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले कोशी सरकार एक हप्ताभित्रै अल्पमतमा पर्ने बताएका छन् ।
विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा एकीकृत समाजवादीका नेतासमेत रहेका राईले यस्तो बताएका हुन् ।
नेता राईले केन्द्रीय सत्ता गठबन्धनमा रहेका र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिनेसमेत बताए ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल भइसकेकोले शीर्ष नेताहरुले चाँडै निकास दिने आश्वासन दिएको बताउँदै उनले मुख्यमन्त्री को बन्ने केन्द्रले नै टुङ्ग्याउने जानकारी दिए ।
संघमा जस्तै प्रदेशमा पनि आलोपालोको सम्भावना हुनसक्ने बताउँदै उनले भने, ‘सबै प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने गरी निर्णय गर्न पनि केन्द्रीय नेताहरुलाई भनेका छौँ ।’
भागबण्डाको हिसाबमा एकीकृत समाजवादीले कोशी प्रदेश पाउने हो? भन्ने प्रश्नमा उनले आफ्नो व्यक्तिगत धारणा मुख्यमन्त्रीका लागि नरहेको बताउँदै पहिलो चरणमै एकीकृत समाजवादीको अडान मुख्यमन्त्री हुनुपर्छ भन्ने नरहेको बताए । आलोपालोमा भने दावी हुनसक्ने उनको भनाई थियो।
राप्रपालाई पनि नयाँ सत्ता समीकरणमा ल्याउनका लागि पहल भइरहेको उनले बताए ।
‘केन्द्रको गठबन्धनमा राप्रपा नभए पनि प्रदेशमा छलफल भइरहेको छ, उहाँहरुको धारणा सकारात्मक नै छ‚’ उनले भने, ‘राप्रपा आउँदैन कि भन्ने अनुमानभन्दा प्रदेशमा फरक छ । राप्रपा नआउँदा पनि सरकार बनाउन बहुमत पुग्ने संख्या हामीसँग रहेको छ ।’