क्यानडा, २९ माघ । क्यानडाको आकाशमा उडिरहेको एक अज्ञात वस्तुलाई अमेरिकी वायु सेनाको युद्धक विमानले क्षेप्यास्त्र प्रहार गरी खसालेको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पछिल्लो पटक देखिएको उक्त अज्ञात वस्तुले क्यानडाको हवाई क्षेत्रको उल्लंघन गरेको र उत्तर पश्चिम क्यानडाको युकोनमा खसालिएको पुष्टि गरेका छन् ।
पछिल्लो साता अमेरिकी आकाशमा उडिरहेको चिनियाँ जासुस बेलुनलाई खसालिएको चर्चा सेलाउन नपाउँदै फेरि अर्को अज्ञात वस्तु भेटिएको यो तेस्रो घटना हो ।
उक्त वस्तुलाई खसाल्न तथा पछ्याउन क्यानडा र अमेरिका दुवै देशका वायु सेनाको यान परिचालन गरिएको र अमेरिकी एफ २२ युद्धक विमानले उक्त वस्तुलाई क्षेप्यास्त्र प्रहार गरी खसालेको प्रधानमन्त्री ट्रुडोले बताए ।







