Logo

क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्छ : डोनाल्ड ट्रम्प



काठमाडौं, ११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने अभिव्यक्ति दोहोर्‍याएका छन् ।

यसो हुनसके क्यानडा चर्को करबाट बच्ने उनको तर्क छ । ‘क्यानडासँग हाम्रो ठूलो व्यापार घाटा छ। हामी यसलाई अब झेल्न सक्दैनौँ’ उनले भने ।

ट्रम्पले अगाडि थपे, ‘तपाईँलाई थाहा छ, म सधैँ भन्ने गर्छु कि क्यानडा एक राज्य बन्न सक्छ। राज्य बन्दा व्यापार घाटा हुने छैन र हामी टारिफ लगाउने छैनौँ ।’

उनले वर्षौँदेखि क्यानडासँगको सम्झौता अप्ठ्यारो काम बन्दै आएको तर्क गरे । ‘यो न्यायसंगत छैन कि २०० अर्ब वा २५० अर्ब डलरको व्यापार घाटा होस्। हामीलाई आफ्ना गाडी बनाउन क्यानडा चाहिँदैन’ उनले भने, ‘हामीलाई उनीहरूको तेल र ग्यासको आवश्यकता छैन। हामीसँग यो अरू कसैको भन्दा धेरै छ।’

ट्रम्पले यसअघि पनि क्यानडा अमेरिकाको ५१औँ राज्य बन्दा करमा ६० प्रतिशतभन्दा बढी कटौती हुने बताउँदै आएका थिए ।

ट्रम्पले केही अघि अमेरिकी सीमाहरूबाट अवैध आप्रवासी र गैरकानुनी रूपमा उत्पादन गरिएको फेन्टेनिल देशमा आउन बन्द नभएसम्म क्यानडाबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ लगाइने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्