Logo

क्याप्टेन विजय लामालाई विमान उडाउन रोक



काठमाडौँ, २३ कात्तिक । विमानको ककपिटमा अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएपछि वरिष्ठ पाइलट विजय लामा कारबाहीमा परेका छन् ।

क्याप्टेन लामाले अनुमति नलिइ एभिएसन भ्लगर साम चुईलाई दुबई-काठमाडौँ रुटको एक भ्लगमा ककपिटबाटै अन्तर्वार्ता दिएका थिए ।

नागरिक उड्डयन प्राधिकरणले उनलाई आइतबारदेखि ग्राउन्डेड गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा कारण स्पष्ट पारेर मात्रै पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्ने व्यवस्था रहेको छ ।

छानबिन प्रतिवेदन नआएसम्म उनलाई उडानमा रोक लगाइएको प्रवक्ता निरौलाले बताए ।

एभियसन भ्लगर साम चुईले दुबईबाट काठमाडौँ आउने क्रममा विमान चालक विजय लामाका साथै कोपाइलट र विमान परिचारिकाहरुसँग पनि कुराकानी गरेका थिए । नेपाल एयरलाइन्सको ए ३३० विमानबाट लिएका दृश्य तथा भिडियो पनि उनले सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्