काठमाडौँ, १३ भदौ । नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ । छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन । एसिया कपको १६ औँ शृङ्खलामा आइपुग्दा मात्र पहिलो पटक नेपालले यी देशका क्रिकेट टोलीसँग स्पर्धा गर्ने भएको हो ।
पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र आयोजक पाकिस्तानको प्रतिस्पर्धा हुने छ । ३० हजार दर्शक क्षमताको पाकिस्तानको मुल्तान रङ्गशालामा हुने उद्घाटन खेल हेर्न प्रायः सबै टिकट बिक्री भइसकेको छ । यही खेलमा नै नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ ।
त्यसपछि भदौ १८ गते श्रीलङ्कमा हुने खेलमा नेपालले अर्को महाशक्ति टिम भारतको सामना गर्ने छ । नेपाल, पाकिस्तान र भारत एसियाली कपको एउटै समूहमा परेका छन् । अर्को समूहमा परेका बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानसँग भने नेपालले अर्को चरणमा प्रवेश गरे मात्र खेल्न पाउने छ ।
गत वैशाखमा घरेलु मैदान दर्शकको समर्थनमा अपराजित रहेर एसिसी प्रिमियर कपको च्याम्पियन बनेर नेपाल एसिया कपमा चयन भएको हो । दस टिम सहभागी यस प्रतियोगितामा युएई, ओमन जस्ता बलिया टिमबिच नेपालले सजिलै प्रतियोगिता जितेको हो । यो प्रतियोगिता एसिया कपको छनोट पनि थियो। त्यसैले च्याम्पियन भएपछि नेपालले एसिया कपमा खेल्ने पक्का भयो ।
यससँगै हाम्रा करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी जस्ता बलरले विराट कोहली, बाबर आजम, रोहित शर्मा जस्ता ब्याट्सम्यानको विकेट ढालेको हेर्न नेपाली क्रिकेट समर्थकले पाउने छन् । त्यस्तै कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, रोहित पौडेललगायतका नेपाली ब्याट्सम्यान विश्वका नामी बलरको बलिङमा चौका, छक्का लगाएको हेर्ने नेपाली सपना पूरा हुने छ ।
२७ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपालको विपक्षी टिमहरूको स्तरका आधारमा यो सर्वाधिक ठुलो प्रतियोगिता हो । हुन त नेपालले दस वर्षअघि नै विश्वकप टी–ट्वान्टी क्रिकेट खेलिसकेको छ । विश्वकप टी–ट्वान्टीमा पहिलो सहभागितामै नेपालले तीनमध्ये दुई खेलमा दुर्लभ जित पनि हासिल गरेको छ । तर विश्वकपको प्रारम्भिक चरणका रूपमा रहेको सो समूहमा ठुला टिमको सहभागिता थिएन ।
विश्वकप टी–ट्वान्टीमा नेपालले हङ्कङ, अफगानिस्तान र बङ्गलादेशसँग खेलेको थियो । त्यसैले पनि एसिया कपमा चयन नेपाली क्रिकेटको अहिलेसम्मकै ठुलो उपलब्धि हो ।
हुन त २१ वर्षअघि पनि नेपाल एसिया कपमा चयन भएको थियो । तर भारत र पाकिस्तानबिचको राजनीतिक तनावले सो समय एसिया कप रद्द भएर भारत र पाकिस्तानसँग खेल्ने सपना चकनाचुर भयो । त्यसपछि अहिले मात्र नेपालले यी दुई विश्व क्रिकेटका सिनियर टिमसँग खेल्ने अवसर पाएको हो। यस पटक नेपालले आफ्नै मिहिनेत र बलबुताले भारत र पाकिस्तानसँग खेल्न आफूलाई योग्य बनाएको हो ।
भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान जस्ता टेस्ट राष्ट्र सामेल प्रतियोगितामा खेल्न योग्य भएपछि नै नेपालको विश्व क्रिकेटमा ठुलो प्रशंसा भइसकेको छ । यी दुई ठुला टिमविरुद्ध स्तब्धकारी नतिजा ल्याएर आफ्नो छवि अझ उच्च पार्न नेपाल चाहन्छ । त्यसैले नेपालले भारत र पाकिस्तान जस्ता टिमलाई हराउन सक्छ रु हारे पनि दुवै टिमलाई बराबरीको टक्कर दिन सक्ला रु यी अहिले नेपाली क्रिकेट समर्थकको मनमष्तिस्कमा घुमिरहेका प्रश्न हुन् ।
विश्व खेलकुदमा कमजोर मानिएको टिमले पनि ठुला टिमलाई हराएर नतिजा उलटुलट गरेका उदाहरण थुप्रै छन् । नेपाली टिम अहिले यी दुई राष्ट्रसँग खेल्नुअघि सकारात्मक मानसिकता छ । त्यसैले एसिया कपमा ठुलो उलटफेरको अपेक्षा गर्न नसकिने होइन । नेपाली क्रिकेट टिम अहिले राम्रो लयमा पनि छ ।
यस वर्ष नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ मार्फत् शीर्ष तीनमा आफ्नो एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटको ग्लोबल चयनको सपना पनि पूरा गरेको थियो । विश्वकप क्रिकेट लिग २ मा नेपालले नेपाल अन्तिम १२ मध्ये ११ खेलमा जित हासिल गरेर विश्वकप छनोटमा स्वतः पुग्न योग्य बनेको हो । जुन नेपाली क्रिकेटमा चमत्कार मानिएको छ ।
त्यसपछि एसिसी प्रिमियर कपमा लगातार छ खेल जितेर नेपाल च्याम्पियन बन्यो । गत महिना नेपालले जिम्बाब्वेमा ग्लोबल विश्वकप छनोट पनि खेल्यो। भारतमा हुने विश्वकपमा चयन हुन नसके पनि नेपालको सो प्रतियोगितामा नेपालको यात्रा प्रेरणादायी थियो । विश्वकप छनोटमा नेपालले अमेरिका र युएईलाई हरायो । जिम्बाब्वे र वेस्ट इन्डिज जस्ता टिमलाई पनि राम्रो टक्कर दिन सफल भयो । भारत र पाकिस्तानसँग पनि नेपाली क्रिकेटरबाटै त्यस्तै खेलको अपेक्षा गरिएको छ । यी दुईमध्ये एक टिमलाई मात्र हराएर उलटफेर ग(यो भने नेपाल विश्व खेलकुदमै एउटा ठुलो समाचार बन्ने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।