Logo

क्रिकेटर लामिछानेलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौँ, २८ पुस । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

यसअघि गएको कात्तिक १८ गते काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । आदेशविरुद्ध सन्दीपका वकिलले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

सन्दीपविरुद्ध १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते जाहेरी दिएकी थिइन् भने प्रहरीले लामिछानेलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्