Logo

क्रिकेट मैदानका लागि बजेटको तत्काल व्यवस्था गर्न सांसद भण्डारीको माग



काठमाडौँ, ६ असार । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले क्रिकेट मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले वर्षौँदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । उनले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढ्न सक्नुपर्ने बताए ।

उनले भने, ‘क्रिकेट मैदान त बनाइदेऊ । कति वर्षसम्म एउटा मैदान बनाउँदैछौँ भन्छौँ? एकैचोटि बनाइदिउँ न । हामीलाई पहिचान दिएको क्रिकेटका लागि बजेट छुट्याइदिउँ न ।’

भण्डारीले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, हिमालसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए । उनले बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौँ शय्याको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरू बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्