काठमाडौँ, ९ भदौ । क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाख रुपैयाँसम्म तलब हुन्छ भनी पीडितसँग छ लाख २४ हजार रुपैयाँ लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।






