इलाम, १० मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।
इलाम क्षेत्र नं १ बाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुन: मतदान हुनुपर्ने बताए ।
आज पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।” उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाएका छन् । पूर्व प्रम खनालले भने, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन? निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता पाउँदैन ।”
हालसम्मको गणनाअनुसार इलाम-१ मा नेकपा (एमाले)का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिइरहेका छन् । खनालले १६ हजार ८७ मत प्रप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाएका छन् ।







