Logo

खाँदबारी-किमाथाङ्का सडक एक महिनादेखि बन्द



सङ्खुवासभा, १४ जेष्ठ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथाङ्का जाने सडक एक महिनादेखि बन्द भएको छ । भोटखोला गाउँपालिकाको किमाथाङ्का जाने सडक बन्द हुँदा स्थानीय नागरिक मारमा परेका छन् ।

मकालु गाउँपालिका-३ समाटारमा सुक्खा पहिरो जाँदा खाँदबारी–किमाथाङ्का अन्तर्गतको कोसी-ल्हासा राजमार्ग बन्द भएको हो । समाटारमा सडकमाथिबाट लगातार रूपमा सुक्खा पहिरो झरिरहेको छ । सडकमाथिको भागको जमिन नै चिरिएकाले झन् डरमर्दो भएको स्थानीयले बताएका छन् । भोटखोला गाउँपालिका-४ मा रहेको वरुण नदीमा रहेको अस्थायी पुलसमेत बाढीले बगाएको छ।

वरुण नदीको अस्थायी पुल बाढीले बगाएपछि गाडी त्यहाँभन्दा माथि जान नसकेको स्थानीय सुवास दर्जीले बताए । हिउँदमा खाँदबारीदेखि ढुवानी गर्ने गाडीहरू भोटखोलाको च्याम्ताङसम्म पुग्थे । खाँदबारीदेखि भोटखोला आवातजावात गर्ने मुख्य सडक खण्ड नै बन्द भएपछि जनजीवन कष्टकर बनेको छ । सुक्खा पहिरोका कारण अहिले समाटारसम्म मात्रै यातायात सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्