Logo

खाना पकाउने ग्यासको खपत घट्दो



काठमाडौँ, ६ पुस । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।

चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ ।

पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन)को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले आर्थिक मन्दीका कारण ग्यासको खपतमा कमी आएको जानकारी दिए ।

“विगतका वर्षमा चिसोको समयमा ग्यासको खपत २० देखि २५ प्रतिशतसम्म बढ्ने गरेको थियो,” अध्यक्ष घिमिरेले भने, “बिजुलीको नियमित आपूर्ति नहुँदा उपभोक्ता बिजुलीमा पूर्ण भर पर्ने अवस्था छैन, आर्थिक गतिविधि सुस्त भएकाले ग्यासको खपतमा कमी आएको हो ।”

५९ उद्योगका पौनै दुई करोड सिलिन्डर उपभोक्ताका घरमा छन् । विगतका वर्षमा एउटा घरमा तीन वटा सिलिन्डर बराबर एक सिलिन्डर मासिक ग्यास खपत हुने गरेकामा अहिले आएर त्यसमा २० देखि ३० प्रतिशतसम्म ग्यास खपत घटेको उनको भनाइ छ ।

विगतका वर्ष हिटर, ग्यास गिजरको प्रयोग बढी हुने हुँदा ग्यासको खपत पनि बढ्ने गरेकामा अहिले आएर बिजुलीले त्यसलाई विस्थापन गरेको व्यवसायीको भनाइ छ ।

निगमका अनुसार चालु आवको साउन महिनामा ४० हजार ४५६ मेट्रिक टन आयात भएको छ । यस्तै भदौ महिनामा ४५ हजार ९५९ मेट्रिक टन, असोज महिनामा घटेर ३८ हजार ८८६ मेट्रिक टनमा झरेको छ ।

यस्तै कात्तिक महिनामा ४२ हजार ६८६ मेट्रिक आयात भएकामा मङ्सिर महिनामा ४३ हजार ५१२ मेट्रिक टन ग्यासको आयात भएको छ । सामान्यतया बजारमा मासिक ४२ हजार ६०६ मेट्रिक टन ग्यास खपत हुने गर्छ ।

पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द थापाले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिए ।

आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उनको भनाइ छ ।

ग्यासको आयात घट्यो
ग्यासको खपत घटेसँगै गत आवमा ग्यासको आयातमा कमी आएको छ । निगमका अनुसार आर्थिक वर्ष २०७९र८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । आव २०७८र७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ । मुलुकमा खपत ७० प्रतिशत परम्परागत दाउरा, गुइँठा, बायोग्यास, ३० प्रतिशत ग्यास कोइला, बिजुलीबाट हुन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् ।

पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर गाउँ गाउँमा समेत ग्यासको प्रयोग बढ्दै गएको छ । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ८९५ रुपियाँ छ ।

निजी उद्योगी व्यवसायीले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात गर्दै आएका छन् । छिमेकी मुलुक भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुने गर्छ । मुलुकमा विभिन्न ५९ वटा ग्यास उद्योगले आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । आजको गारेखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्