काठमाडौँ, १० जेठ । कारागारमा एउटा व्यक्तिको सजाय अर्कै व्यक्तिले भुक्तान गर्दै आएको खुलासा भएको छ । फसाइएका व्यक्तिको कारागारमै शंकास्पद मृत्यु भएपछि उक्त रहस्य बाहिर आएको हो । नेपालगन्ज उपमहानगरपालिका(२ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार)लाई विजयविक्रम शाह नाम गरेका व्यक्तिको सजाय भुक्तान गर्न लगाइएको पाइएको हो ।
हरिजनका आफन्तले सोमबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका हुन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । नेपालगन्ज कारागारबाट परिवारलाई थाहै नदिई रोल्पा कारागार पुयाइएका हरिजनको केही दिनअघि कारागारमै शंकास्पद मृत्यु भएपछि नेपालगन्ज कारागारका कर्मचारीले गरेको बदमासी खुल्न आएको हो ।
प्रहरीले सुन्दरको शव रोल्पा कारागारको शौचालयमा देखेपछि परिवारलाई फोन गरेर विजयविक्रम शाहले आत्महत्या गरेका छन्, शव बुझ्न आउनुहोला भनेर खबर गरेको थियो । परिवारले विजय आफूहरूको मान्छे नभएको बताएपछि प्रहरीले सुन्दरको झुन्डिएको अवस्थाको फोटो पठाएको थियो । त्यसपछि सुन्दरका दाइ रोल्पा पुगेर शव बुझ्दा पुर्जामा पनि विजयविक्रम नाम नै उल्लेख भएको पाइएपछि उनमा आशंका जन्मिएको थियो र उनले आफ्नो भाइको नाम सुन्दर भएको भन्दै सच्याउन लगाएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।







