झापा, २४ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यबाट पर्यटक भित्र्याउने योजनामा सरकारले काम गरिरहेको बताउनुभएको छ।
काँकडभिट्टा खेलमैदानको आज निरीक्षण गर्दै उहाले पूर्वीनाकामा रहेको खेलमैदानमार्फत काँकडभिट्टाले नेपालमा पर्यटक भित्र्याउन सक्ने भनाइ राख्नुभयो। मन्त्री चौधरीले सङ्घीय सरकारले काँकडभिट्टा खेलमैदानको स्तरोन्नतिका लागि चालू आर्थिक वर्ष २०८२/८३ मा रु तीन करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
‘क्रिकेट, फुटबल र भलिबल खेलेर नेपाली खेलाडीले लाखौँलाख आर्जन गरेका थुप्रै उदाहरण छन्’, उनले स्थानीय जनप्रतिनिधि, खेलाडी र खेलप्रेमीहरुलाई सम्बोधन गर्दै भन्नुभयो, ‘दुई ठूला देशको बीचमा छौँ हामी। एसियाली राजमार्ग निर्माणपछि काँकडभिट्टा खेलमैदानको महत्त्व अन्तरराष्ट्रिय रूपमा बढेर जानेछ।’
उहाले खेलकुद क्षेत्र मनोरञ्जन, स्वास्थ्य र पर्यटनको माध्यम भएको जनाउँदै देशको पहिचान बढाउन काँकडभिट्टाले उत्पादन गरेका खेलाडीको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो।
सरकारले खेलकुद क्षेत्रका लागि अहिले रु छ अर्ब बजेट छुट्याएको उल्लेख गर्दै मन्त्री चौधरीले खेलमैदान स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
काँकडभिट्टा खेलमैदानले चर्चेको जग्गा ग्रामीण आवास कम्पनीको भएको विषयमा उहाले छिटोभन्दा छिटो खेलमैदानको जग्गा स्थानीय तहको स्वामित्वमा ल्याउनुपर्ने बताउनुभयो। उहाले खेलमैदानको जग्गाको स्वामित्व पालिकाको नाममा ल्याउन र त्यसको पूर्वाधार विकासमा सघाउन सरकार तयार रहेको बताउनुभयो।
त्यस अवसरमा मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, पूर्वनगरप्रमुख विमल आचार्यलगायतले काँकडभिट्टाको खेलकुद गतिविधि र मैदानका समस्या बारेमा मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुुभएको थियो।