काठमाडौँ, १७ पुुुस । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा एवं मनलाई क्रियाशील तथा अनुशासित बनाउने बताएका छन् ।
काठमाडौँ महानगरपालिकाद्वारा आज यहाँ आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, “अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् ।”
राष्ट्रपति पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउँदै शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताए । उनले भने, “खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र प्रतिभाको विकास गर्न सक्छन् । खेलकुद क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ट प्रयत्न होऊन् भनेर म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।”
राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताए ।
विद्यार्थी शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने उनले स्पष्ट पारेका हुन् । उनले भने, “खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ । यो उनीहरूलाई ऊर्जा, सजीवता र सामथ्र्य दिने माध्यम तथा स्वास्थ्य ठीक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवनमार्गमा सफल बनाउने कारक पनि हो ।”