लुम्बिनी, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्त्व दिनुपर्ने बताएका छन् ।
उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।
विश्व खेलकुद दिवसका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको दोस्रो साधारणसभाको आज बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले खेलकुद जीवनका लागि अपरिहार्य भएको र खेलकुदले मित्रता र आत्मीयता अभिवृद्धिको काम गर्ने बताएका छन् । उनले भने, “विपक्षीसँग खेल्दा सम्बन्ध सुधार हुन्छ । बिग्रेको मित्रता सुध्रिने, नभएको मित्रता प्राप्त हुन्छ ।”
उनले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र नभएर असल राजनीतिक संस्कारसमेत सिकाउने बताए । अध्यक्ष ओलीले विपक्षीसँग कसरी मित्रवत् बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने बताएका छन् ।
उनले आफूले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणलाई सधैँ प्राथमिकता दिएको भन्दै खेलसम्बद्ध संस्थाहरूले पनि राज्यलाई झकझकाउनुपर्ने बताए ।