ताप्लेजुङ, ३ असार । गएरातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका-७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका पोखरेलको आग्रहमा नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको थियो ।
घटनास्थलबाट अन्य शवसमेत निकालिएको र हेलिकप्टरमै राखेर शव परीक्षणका लागि सदरमुकाम फुङलिङमा पु¥याइएको थियोे । घाइते अधिकारीकी आमा तुलसा र श्रीमती यसोदाको भने घटनास्थलमै निधन भएको थियो ।
रातको समयमा घरमाथिबाट झरेको पहिरोसँगै उछिट्टिएर सडकमा निस्किएका अधिकारी भागेर ज्यान जोगाउन सफल भएका थिए । घरमा तीन जना मात्रै बस्दै आएका थिए । परिवारका अन्य सदस्य भने झापास्थित घरमा बस्दै आएका छन् ।