खोटाङ, २९ कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम-लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उमेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ ।
गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ र नेकपा (एमाले)बाट विशाल भट्टराई उमेदवार छन् । विसं २०६४ मा क्षेत्र नं.१ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित भएका थिए । विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका भट्टराई विसं २०७० र २०७४ मा विजयी भएका थिए ।
प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ-आठ तथा प्रदेशसभा (२)मा छ नेता चुनावी मैदानमा छन् ।
एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा वाम-लोकतान्त्रिक गठबन्धन र एमालेका उमेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तह वाम-लोकतान्त्रिक गठबन्धनले जितेको थियो । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा वाम-लोकतान्त्रिक गठबन्धनको ४७ हजार ५१३ मत छ । एमालेको २८ हजार ७९७ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको मतलाई आधार मानेर हेर्दा प्रदेशसभा (१)मा कांग्रेस १६ हजार ९३४, माओवादी केन्द्रको आठ हजार ४२४ र एकीकृत समाजवादीको एक हजार १२६ गरी गठबन्धनको २६ हजार ४८४ मत छ । एमालेको १३ हजार २५९ मात्र छ ।
स्थानीय तहको चुनावमा वडाध्यक्षको मतका आधारमा प्रदेशसभा (२) मा गठबन्धन नै अगाडि छ । माओवादीको १० हजार ३१२, कांग्रेसको नौ हजार ६९९ र एकीकृत समाजवादीको एक हजार १८ गरी २१ हजार २९ मत खसेको थियो । एमालेको भने १५ हजार ५३७ मत छ ।







