नेपालगन्ज, २१ असोज। डुडुवा खोलामा पौडी खेल्नेक्रममा शनिवार डुबेर बेपत्ता भएका एक बालकको शव आइतवार प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार शनिवार दिउँसो करिब ३ बजेको समयमा सात जना बालक नेपालगन्ज २० राँझास्थित डुडुवा खोलामा पौडी खेल्न गएका थिए । हुम्ला सिमिकोट –७ घर भई हाल नेपालगन्ज २० राँझामा डेरा गरी बस्ने वर्ष १६ का उपेश शाही डुबेर बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार शाही डुबेको स्थान वरिपरि शनिबार नै सशस्त्र प्रहरी, राँझा प्रहरी बिट र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बेलुकासम्म खोजतलाश गर्दा बालकको कुनै पत्ता लागेको थिएन ।
तर, आइतबार शसस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्ब गण हेडक्वाटर शमशेरगन्ज बाँकेबाट सशस्त्र प्रहरी निरीक्षक केशब बुढाको कमाण्डमा ७ जनाको लाइफबोट समेतको गोताखोर टोलीले डुबेकै स्थानबाट बालक शाहीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनास्थलको प्रारम्भिक काम पश्चात शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएकोमा दिउँसो पोष्टमार्टम गरेर शवलाई मृतकका ठुलो बुवा प्रेमबहादुर शाहीलाई बुझाएको प्रहरीले जनाएको छ ।