Logo

गगनले भने, ‘कपनमा खहरे आउन साथ सबैभन्दा बढी गाली मै खान्छु’



काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको लागि छुट्टै आयोजना बनाउन सरकारसँग माग गरेका छन् ।

आइतबार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले छुट्टै आयोजना बनाउन माग गरेका हुन् ।

थापाले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबैभन्दा धेरै गाली खाने गरेको बताए । थापाले भने, “यो क्षत्रमा सबैभन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु ।”

थापाले सबै योजनाहरुलाई एउटै आयोजनामार्फत काम गरेर कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको काम गर्नुपर्ने बताए । उनले कोरिडोर क्षेत्रमा भएका खण्ड–खण्डका कामहरु सबै अब बन्ने आयोजनाअन्तर्गत ल्याउन पनि माग गरे । “काठमाडौं उपत्यका प्राधिकरण, स्थानीय नगरपालिका, प्रदेशले एउटा गरी खण्डखण्डमा काम गर्ने काम भएको छ । यसलाई एउटै आयोजनामार्फत बाढी नियन्त्रण गर्न के गर्ने योजना बनाउनुपर्छ । यो स्थानमा स्थानीय तह, प्रदेशले छुट्टै काम गर्नुहुँदैन,”

“बाहिरबाट आएमा मानिसहरुले दुई आना, पाँच आनामा घर बनाउनु भएको छ । उहाँहरुसँग लालपूर्जा छ । उहाँहरुले वर्षैपिच्छे कर तिर्नुभएको छ । उहाँहरु वैधानिक रुपमा बस्नुभएको छ,” थापाले भने, “कोरिडोर बनाउने क्रममा खोलाको बहावलाई मात्रै नियन्त्रण गर्ने गरी मात्रै नभएर बनाएका घरहरुको समेत संरक्षण कसरी गर्ने सोच्नुपर्ने देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस्