काठमाडौँ, १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेंगी नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।
काठमाडौं- ४ मा भएको पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै सरकारले डेंगी नियन्त्रणमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेको र जिम्मेवारी पूरा नगरेकोमा असन्तुष्टि जनाएका हुन् ।
‘डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकेन । यसमा मेरो ठूलो असन्तुष्टि छ‚’ उनले भने‚ ‘मैले प्रधानमन्त्रीलाई भेटेर पटक-पटक भनेको छु; योबेलामा सरकारको जिम्मेवारी हो, जनताको जीउधनको रक्षा गर्ने ।’
“सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,” थापाले भने, “हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौँ । तर, अहिले हाम्रै सरकारले काम गरेन ।”
थापाले आपतकालीन बैठक बसेर तीनै तहका सरकार मिलेर अस्पतालको व्यवस्थापनदेखि डेंगी नियन्त्रणका लागि साझा योजनाबाट काम गर्नुपर्ने बताए । उनले चाडबाडका बेला डेंगीको प्रकोप बढ्ने देखिएकाले सरकारले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने बताए ।







