Logo

गगन थापा भन्छन्: वृद्ध भत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन



काठमाडौँ, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्ध भत्तालाई छिटो-छिटो दिने निर्णय गरिरहेको बताएका छन् ।

बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवमा बोल्दै महामन्त्री थापाले राजनीतिक दलहरूले अबका दिनमा ५० वर्षमा नै वृद्ध भत्ता पाउने व्यवस्था गर्नसक्ने प्रतिस्पर्धा चलिरहेको बताए ।

महामन्त्री थापाले नयाँ प्रधानमन्त्रीले आउँदो एक वर्षमा कसरी देशको अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ भन्ने बारेमा सोचेरमात्रै नेतृत्व लिनुपर्ने बताए । पछिल्लो समय पालिकामा समेत कसले धेरै पैसा बाँड्ने भन्ने प्रतिस्पर्धा भइरहेको उनले उल्लेख गरेका थिए ।

उनले भने, ‘मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्ध भत्ता दिन्छन् कि जस्तो लागेको छ । प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ, मजस्तो नयाँ आउने प्रधानमन्त्रीले नेपालमा एक वर्षभित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु? कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो । भाष्य नै हामीले गलत बनाएका छौँ । माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ । स्थानीय सरकारमा पनि कसले कति बाँड्ने भन्ने प्रतिस्पर्धा छ ।’

प्रतिक्रिया दिनुहोस्