Logo

गठबन्धनका उम्मेदवारलाई बाहुनडाँगीमा भव्य स्वागतसहित शुभकामना



मेचीनगर, २४ कात्तिक । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा गठबन्धन दलका उम्मेदवार थप उत्साहका साथ मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् ।

मतदान गर्ने दिन नजिकिँदै जाँदा मतदातासमेत गठबन्धनलाई भरोसा गर्न थालिसकेका छन् । उनीहरु आफ्ना समस्यालाई गठबन्धनले सम्बोधन गरे आफूहरुको पूर्ण सहयोग रहने उम्मेदवारलाई विश्वास दिलाइरहेका छन् ।

यसैबीच झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र प्रदेश (क) का उम्मेदवार गोपाल तामाङ मेचीनगर नगरपालिका वडा नंं.२ र ३ पुग्दा स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो ।

आफ्नो घर आँगनमा आएका उम्मेदवारहरूलाई स्थानीयले भव्य स्वागत, सत्कार गर्दै जितका लागि शुभकामना दिएका थिए । मतदाताले आफूले खोजेका र रोजेका उम्मेदवाहरूलाई आफ्नै आँगनमा तथा बाटोमा रोकेर सयपत्री फूलको मालाले गला भरिदिँदा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विश्वप्रकाश शर्मा र प्रदेश (क) का उम्मेदवार गोपाल तामाङ बुढापाकाको आर्शिवाद तथा युवाको साथ र सहयोगसँगै भोट माग्दै थिए ।

गठबन्धनका उम्मेदवारले आफूहरु यस क्षेत्रको विकास गर्न आतुर रहेकाले विश्वासका साथ मत दिन आग्रह गरेका थिए ।

बिहीबार बिहान मेचीनगरको वडा नम्बर-२ स्थित संगम चोक, जोगी डाँडा, मगर डाँडा र वडा नम्बर-३ को दोकान डाँडा, हात्तीसुँडे, बडाखाल लगायतका क्षेत्रमा घरदैलो अभियान सम्पन्न भएको हो ।

त्यसैगरी बिहीबार नै प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विश्वप्रकाश शर्मा र प्रदेश (क) का उम्मेदवार गोपाल तामाङ मेचीनगर-५ स्थित सामुदायिक पोस्ट हार्भेस्ट पुग्दा स्थानीयको उल्लेख्य उपस्थित रहेको थियो ।

घरदैलो कार्यक्रम सुरु हुनुपूर्व आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका शर्माले गठबन्धन दल र एमालेसहितका मतदाताको विश्वास र आशिर्वादले भारी मतका साथ विजयी हुने विश्वास व्यक्त गरे । ‘आफूहरु निर्वाचित भएपछि पहिलो माला जेष्ठ नागरिकलाई लगाउनेछौँ,’ शर्माले भने, ‘जेष्ठ नागरिक हाम्रा अभिभावक हुन् । पहिलो सम्मान हामी अभिभावकलाई गर्छौं ।’

सो अवसरमा प्रदेश (क) का उम्मेदवार गोपाल तामाङले आफू सामाजिक क्षेत्रमा लामो समय क्रियाशील रहेको बताए । घरदैलो अभियान श्रमिक टोल, शान्ति टोल, सहकारी र शिवालय टोलमा सञ्चालन भएको थियो ।

यस्तै, गठबन्धन दलका उम्मेदवारहरुले मेचीनगर-८ का विभिन्न टोलमा पुगेर मतदातालाई भेटेका छन् । मतदातका समस्या सुन्न र मत माग्न पुगेका झापा-१ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्मालाई मतदाताले ठाउँ-ठाउँमा अविर र माला पहिर्याएर जीतको लागि शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्