Logo

गठबन्धनकै सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल



काठमाडौँ, १२ मंसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज नयाँ सरकार गठनबारे छलफल भएको छ ।

प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दलीय गठबन्धनलाई अझै थप बलियो बनाइ गठबन्धनकै नेतृत्वमा आगामी सरकार गठन गर्नुपर्ने विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नयाँ सरकार गठन, राष्ट्रपतिलगायत ‘पावर शेयरिङ’ गर्नुपर्ने बारेमा समेत छलफल भएको थियो । गठबन्धन दायाँबाँया नगरी एकमतका साथ अघि बढ्नुपर्ने तीन शीर्ष नेताको निष्कर्ष रहेको प्रेस प्रमुख परियारले बताए ।

निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच भएको भेटमा बधाई साटासाटसमेत भएको थियो । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच यसअघि शनिबार पनि भेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्