Logo

गठबन्धनको जित सुनिश्चित: सिंह



काठमाडौँ, २५ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धनको जित सुनिश्चित भएको बताएका छन् ।

उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुन् ।

शुक्रबार काठमाडौँ-१ को घरदैलो कार्यक्रममा उनले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यहाँ आफूहरू विजयी हुने बताए । आफूले गठबन्धनलाई आधार मानेर अघि बढिरहेको उनले उल्लेख गरेका थिए ।

नेता सिंहले आसन्न निर्वाचनपछि संविधानको रक्षा गरेर अधिकारहरूलाई सुरक्षित राख्दै, संस्थागत गर्दै विकास निर्माणका प्रक्रियाहरूलाई अघि बढाइने बताए ।

काठमाडौँ-१ मा स्वच्छ खानेपानी, शिक्षाको गुणस्तरमा सुधार एवं नि:शुल्क र गुणस्तर स्वास्थ्य प्रणालीको विकास गर्न आम मतदाताले माग गरेको भन्दै उनले त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहको घरदैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्