काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक नभएको बताएका छन् ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता सिटौलाले भने, ‘गठबन्धन यसरी गर्नुपर्छ भन्ने अहिले टुंगो लगाउन आवश्यक छैन, देश जता जान्छ त्यतै जाने हो, धेरै साथीहरूले गठबन्धन गरौँ नगरौँ भन्नु भयो । तर, त्यो परिस्थितिले भन्ने कुरा हो ।’
अहिले गठबन्धनका कारण केन्द्र, प्रदेश र स्थानीय तहमा कांग्रेसको सरकार बनेको र जनताका कुरा सुनिन थालेको उनको भनाइ छ ।
‘कांग्रेस जनको मनोबल बढेको छ । निर्वाचन सम्म देशको परिस्थिति कस्तो हुन्छ त्यो एउटा कुरा हो । अहिले कसैले पनि गठबन्धन गरौँ भनेर प्रस्ताव गरेको छैन, छलफल भएको छैन । त्यसकारण गठबन्धन यता पनि हुन सक्छ उता पनि हुन सक्छ,’ उनले थपे ।
‘स्थानीय चुनावमा वाम गठबन्धन भएको भए हामीलाई धेरै गाह्रो हुन्थ्यो,’ उनले प्रश्न गरे, ‘भोलि वाम एकता भयो भने हाम्रो हालत के हुन्छ?’
सिटौलाले चुनावमा गठबन्धन मात्र सबै कुरा नभएको बताए । ‘साथीहरूले मिहेनत गर्नु भएको छ, जहाँ गठबन्धन भएर मिहेनत भएन त्यहाँ हामी हार्यौँ, जहाँ मिहेनत भयो परिणाम राम्रो आयो ।’







