Logo

गठबन्धनभित्रका दलले अहङ्कार राख्नु हुँदैन: नेपाल



काठमाडौँ, १६ वैशाख । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आबद्ध दलहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले गठबन्धनभित्रका दलले अहङ्कार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताए । पालिका चुनावको उम्मेदवारीमा कतिपय ठाउँमा तल-माथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा हुने पनि अध्यक्ष नेपालले बताए । उनले भने ‘उम्मेदवारीको बारेमा तल-माथि भएको होला कतिपय ठाउँमा । हाम्रा दुखेसाहरू होलान् । आलोचना पनि होलान् हाम्रा गठबन्धनका अन्य पार्टीहरूप्रति । त्यो आफ्नो ठाउँमा हामी विवेचना गरौँला । त्यस्तो गर्न हुँदैन पनि भनौँला ।’

अध्यक्ष नेपालले वैशाख ३० गते हुने पालिका चुनावका लागि मनोनयन दर्ताकै क्रममा आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताए ।

प्रतिक्रिया दिनुहोस्