Logo

गठबन्धनमा सिट बाँडफाँटको टुङ्गो लागिसकेको छैन: खड्का



काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले गठबन्धन दलबीच अझै सिट बाँडफाँटको टुङ्गो नलागेको बताएका छन् ।

भक्तपुरका नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा भक्तपुरले आज आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले मङ्सिर ४ को चुनावमा गठबन्धनसहित जाने भए पनि सिट बाँडफाँटको टुङ्गो भने अझै नलागेको बताएका हुन् ।

अहिलेको गठबन्धन कांग्रेसका लागि रहर नभई बाध्यता भएको चर्चा गर्दै उनले भने, “राजनीतिले यस्तो अवस्था सिर्जना ग¥यो कि, गठबन्धनलाई सँगै लिएर नजाने हो भने कांग्रेस एक्लै चुनाव लड्ने अवस्था छैन, कांग्रेस एक्लै जान खोजे फेरि एमालेसँग माओवादी केन्द्र, समाजवादी, मधेसवादी दलको गठबन्धन हुने अवस्था देखियो, त्यसैले पनि कांग्रेसले गठबन्धन छाड्न सक्दैन ।”

उपसभापति खड्काले संविधानको रक्षा गर्ने एजेण्डा बोकेका दल गठबन्धन तालमेलको अवस्थामा पुगेको बताउँदै उनले गठबन्धन कांग्रेसका लागि रुचि नभई बाध्यता भएको बताए । गठबन्धनमा सिट बाँडफाँट मिलाउँदा कांग्रेसले पाउने सिट सङ्ख्या घट्नसक्ने भन्दै उहाँले त्यस्तो अवस्थामा नेताले टिकट नपाउने अवस्थालाई बुझिदिन आग्रहसमेत गरेका छन् ।

गठबन्धन गर्दा कांग्रेसलाई बढीभन्दा बढी फाइदा हुने र क्षति कम हुनेगरी नै गठबन्धनमा सिट बाँडफाँट बताउँदै उनले गठबन्धनका उम्मेदवार जो भए पनि जिताउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्