पोखरा, १ साउन । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनलाई चुनावसम्म जोगाउन नेताहरु भारत भ्रमणमा गएका दाबी गरेका छन् ।
प्रेस चैतारी गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आउँदो सङ्घीय र प्रदेशको चुनावसम्म गठबन्धन टिकाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा भारत भ्रमणमा गएको दाबी गरेका हुन् ।
उनले नेपालको राजनीतिलाई खण्ड गर्ने काम भएको बताउँदै आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप समेत लगाएका छन् ।
उनले अर्थमन्त्रीले बजेट निर्माणका सन्दर्भमा भारतीय नागरिकलाई राजश्वका दर हेरफेर गर्ने सल्लाहकारको रुपमा मन्त्रालयमा सहभागी गराइएको विषय गम्भीर रहेको बताए । पोखरेलले गठबन्धन सरकारको नीतिगत विचलन र सेटिङका कारण अहिलेको आर्थिक सङ्कट पैदा भएको आरोप लगाएका छन् ।
एमालेको सरकार आए अहिलेको आर्थिक सङ्कट सजिलै पार लाग्ने उनको भनाइ छ । उनले नेपालमा धेरै राजनीति पार्टीहरू आवश्यक नभएको भन्दै ध्रुवीकरणमा जानु पर्ने बताए । उनले आउँदो चुनावमा ध्रुवीकरण हुने बताएका हुन् ।







