काठमाठौँ, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राम्रो काम गर्ने भन्दा पनि एमालेको विरोधमा समय खर्चिरहेको आरोप लगाएका छन् ।
शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोध गरेर कुनै प्रतिफल हात नलाग्ने बताए ।
‘गठबन्धन राम्रो काम गर्ने होइन एमालेको विरोध गर्नेतर्फ केन्द्रित भएको छ,त्यसमा पनि अझ बढी एमालेका अध्यक्षको विरोध गर्ने काममा लागेको छ । एमालेलाई जनताबाट कसरी अलग गर्न सकिन्छ भनेर भ्रम छर्न व्यस्त छ’, ओलीले भने, ‘यस्तोमा लागेर प्रतिफल कहाँ आउँछ र?’
गठबन्धनले गरेको राजनीति वास्तविक राजनीति नभइ जनता अल्मल्याउने र राजनीतिप्रति जनतामा वितृष्ण जगाउने काम मात्रै भएको ओलीको टिप्पणी छ ।
एमाले राणा शासनको चाकडीबाट आएको पार्टी नभइ कामको मुल्यांकनका आधारबाट आएको पार्टी भएको भन्दै ओलीले क्षमताका आधारमा नेता कार्यकर्तालाई जिम्मेवारी तोकिने बताए ।







