Logo

गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरिरहेको छ: अध्यक्ष ओली



काठमाडौँ, २० माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरिरहेको बताएका छन् । सत्तामा पुग्ने र सत्तामा अडिरहने बाहेक सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा काम नगरेको उनको आरोप छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शनिबार आयोजित पार्टी संसदीय दलको बैठकमा उनले सो आरोप लगाएका हुन् । सत्तारुढ गठबन्धनले सत्तामा अडिने बाहेक अरु कुनै राजनीति नगरेको उनले दावी गरेका थिए । देशको निम्ति केही गर्नेभन्दा पनि सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीतिक चलखेल गरिरहेको ओलीले बताएका छन् ।

उनले सरकारले दिगो विकास लक्ष्य विपरित रेमिटयान्सको भर परेर देश चलाउने सोच लिएको चर्चा गरेका थिए । अध्यक्ष ओलीले सरकारले जाजरकोट लगायत क्षेत्रमा भूकम्पपीडितको पक्षमा अझै आवास निर्माणको काम गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले भने, ‘देशको अवस्था नाजुक छ । जनताको अवस्था नाजुक छ । युवा विदेश पलायन भइराखेका छन । उनीहरुलाई रोक्ने योजना बनाउनुभन्दा रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ । रेमिटयान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुशी भएको छ ।’ रेमिट्यान्सबाट देश चलाउनेजस्तो घातक काम अरु केही नभएको उनले बताए । कथमकदाचित कुनै हिसावले कुनै दिन रेमिटयान्स बन्द भयो भने देशको आर्थिक अवस्था ध्वस्त हुने उनले बताएका छन् ।

दिगो विकास लक्ष्य भेट्न भनेर हामी हिँडिरहेका छौं । रेमिटयान्स अर्थतन्त्र भनेको दिगो विकास नहुने उनले बताए । हिँड्नुपर्ने बाटोमा सरकार हिँड्न नसकेको उनको भनाइ छ । “जानुपर्ने राजनीति एकातिर छ । सरकार बन्ने, बनाउने, टिकाउने त्योभन्दा परतिर राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म मात्र भयो” उनले भने ।

सरकारको लापरवाहीका कारण सिँगै हिउँदभरी जनताहरु प्लाष्टिकमुनि बस्नुपरेको उनले बताए । भूकम्प पीडितका लागि हाम्रो भोलेन्टियर्सले १२-१५ सय घर बनाएर हस्तान्तरण गरे । सरकारले के ग¥यो? उनले जिज्ञासा गरे । अध्यक्ष ओलीले सरकारले जनताको पीरमर्कामा साथ दिने काम नगरेको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्