काठमाडौँ, १३ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।
“हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ”, सम्पादकहरुसँग राजधानीमा आज भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने ।
उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता हो भने । उनले जनताले चाहेको सुशासन र विकासमा राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए ।
वरिष्ठ नेता पौडेलले जीवनमा आफूले लेनदेनको राजनीति नगरेको र मुलुकको विकास गर्न नैतिक, स्वच्छ र चरित्रवान् छवि भएको व्यक्तित्व आवश्यक भएको चर्चा गरेका थिए । “मुलुकको लागि अझै केही गर्ने हुटहुटी र आकांक्षा छ, त्यसैले फेरि आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहेको छु” ।







