पोखरा, ९ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावसम्म नै गठबन्धन कायमै रहने बताएका छन् ।
४४ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धना आबद्ध दलहरू आउँदो चुनावसम्म नै तालमेल गरेरै अगाडि बढ्ने बताए ।
तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी भावनाअनुसार हुने अध्यक्ष नेपालको भनाइ छ । पालिका चुनावको नतिजालाई सबै दलले सन्तोषजनक रूपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर चुनावमा जाने बताए । ‘अहिले कसै-कसैले अन्य तरिकाबाट अनेक थरीका कुरा गर्न थालेका छन् तर गठबन्धन टुट्नेवाला छैन्’, उनले भने, ‘आउँदो चुनावसम्म गठबन्धन कायमै रहन्छ, यसका लागि हाम्रो तर्फबाट अवश्य पनि बहस र छलफल हुन्छ ।’
अध्यक्ष नेपालले गठबन्धन गर्दा कसैले यो या त्यो बहानामा ठूलो भाग खोजेको खण्डमा टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिए । शक्ति बनाउने कुरामा कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।







