काठमाडौँ, १७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन छाडेर आए एकता हुन सक्ने संकेत गरेका छन् ।
तुल्सीलाल अमात्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले गठबन्धनबाहेकका कम्युनिस्टहरूलाई पार्टीमा आउनसमेत आग्रह गरेका हुन् ।
“गठबन्धन भनेर त्यसको उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूकोबारेमा विचार गर्न सकिएकला,” उनले भने । ओलीले पूर्व नेकपाको सचिवालयमा रहेका पाँच नेताहरूको केही अघिको भेटबारे पनि कटाक्ष गरेका थिए ।
“गठबन्धनमा बसेर दुष्ट उद्देश्य राखेर अस्ति त पाँच भाइ भेला भएछन् । जो एमालेमा हुँदा दुस्ख दिने थिए नि । पार्टी फुटाउनेहरू जम्मा भएछन् । समाजवादी केन्द्र बनाउने!,” उनले भने,“ अनि समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे? यी समाजवादी? यी जनविरोधी, देशद्रोही, एमसीसी, एसपीपी यिनीहरू समाजवादी? ”







