
चितवन, १४ वैशाख । चितवनको भरतपुर महानगरमा गठबन्धनभित्र देखिएको विवाद सल्टाउन गृहमन्त्री बालकृष्ण खाँण खटिएका छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाँण खटिएका हुन् ।
पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रलाई भरतपुर महानगरको भाग परेपछि चितवन कांग्रेस असन्तुष्ट छ । केन्द्रको निर्णयविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गृहमन्त्री खाँणले काठमाडौँमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै भने, ‘म भैरहवा जाने कार्यक्रम थियो। तर सभापतिज्यूले गठबन्धन बलियो बनाउन मलाई चितवन जानू भन्नुभयो । पार्टीका साथीहरूसँग छलफल गरेर सहमतिमै अगाडि बढ्छौँ ।’
०७४ सालको निर्वाचनमा पनि माओवादी केन्द्रलाई सघाएको भरतपुर महानगरमा अहिले पनि माओवादीकै भागमा परेका छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई गठबन्धनको तर्फबाट साझा उम्मेदवार तय गरेको छ ।







