काभ्रेपलाञ्चोक, २४ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताएका छन् ।
उनले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गठबनधन नेतालाई निर्वाचनमा जिताउन मात्रै नभई मुलुकलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताएका हुन् ।
“गठबन्धन मुलकको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भई देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ”, सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने । उनले आगामी दिनमा गठबन्धन कायम राख्दै आउँदो निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा अगाडि बढिरहेको बताए ।
मन्त्री कार्कीले निर्वाचनपश्चात् पनि गठबन्धनको साझा अवधारणाअनुरूप अगाडि बढेर देश स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दोहो¥याए । उनले भने, “संविधानको रक्षा, मुलुकमा कानूनी शासनको प्रत्याभूति र सुशासनलाई यो सरकारले आफ्नो प्रमुख कार्यभारको रूपमा अङ्गिकार गर्दै मुलुकलाई सोही दिशातर्फ अघि बढाएको छ ।” मुलुकलाई राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिको दिशामा मुलुकलाई लैजान यो सरकार गठन भएको उनको जिकिर थियो ।







