सुर्खेत, २० वैशाख । सत्तारुढ गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलभित्रै भए पनि आफ्नो पार्टीलाई बाइपास गर्ने काम भइरहेको गुनासो गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आज भएको पत्रकार सम्मेलनमा उनले आफूहरूले गरेको योगदानलाई नबिर्सिन चेतावनी दिएका छन् ।
गठबन्धनलाई टिकाउने र निरन्तरता दिने कुरा भइरहँदा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भैरहेको उनको गुनासो छ । अध्यक्ष नेपालले खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै माओवादीको व्यवहारप्रति आपत्ति जनाएका हुन् ।
उनले भने ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन । गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पार्न सक्छ ।’







