धनकुटा, ९ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने बताएका छन् ।
तर, अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने पोख्रेलको भनाइ छ ।
प्रेस चौतारी नेपाल धनकुटाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले एमाले सरकार बनाउने खेलमा नरहेको बताए ।
भर्खरै सम्पन्न निर्वाचनमा जनताले नेकपा एमालेलाई सरकारमा जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताए । तर, गठबन्धन तोडेर कांग्रेस वा माओवादी केन्द्र आए छलफल गर्न सकिने उनको तर्क छ ।
गठबन्धन राष्ट्र हितमा नभएकोले यो पहिले तोडिनुपर्छ भन्ने एमालेको धारणा रहेको उनले बताए ।







