काठमाडौँ, १९ भदौ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशरण महतले आगामी मङ्सिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा अरु पार्टीसँग गठबन्धन बनाएर जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको बताएका हुन् ।
प्रवक्ता महतले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीभित्र गठबन्धन बनाएर जाने विषयमा कुनै मतमतान्तर नरहेको बताए । “पार्टीभित्रको मतमतान्तर पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिको बैठकमा समाधान हुन्छन्, निर्वाचनसम्म गठबन्धन बनाएर जाने विषयमा पार्टीभित्र कुनै मतमतान्तर छैन”, उनले भने ।
प्रवक्ता डा.महतले अहिलेकै गठबन्धनलाई जोगाएर निर्वाचनसम्म लैजाने स्पष्ट पारे । “अघिल्लो निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा स्वाभाविक हुने, अहिले कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गर्दा अस्वाभाविक हुने?”, उनले प्रश्न गरे । कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नगरे अर्को दलले माओवादीसँग गठबन्धन गर्नसक्ने उनको भनाइ छ ।
उनले देशको ठूलो पार्टी कांग्रेसमा निर्वाचनका लागि धेरै आकांक्षी हुनु स्वाभाविक भएको बताउँदै सबै आकांक्षीलाई मिलाएर लैजानु पार्टीभित्र चुनौतीपूर्ण रहेको उल्लेख गरे । “धेरै सिट लिनुभन्दा धेरै सिटमा जित्नु कांग्रेसका लागि महत्वपूर्ण कुरा हो”, उनले भने । समावेशीतालाई सुनिश्चित गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन कांग्रेसले विगतका दिनमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।







