Logo

सत्ता गठबन्धन बारम्बार संविधान मिचिरहेको छ: खनाल



काठमाडौँ, ९ भाद्र । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको सिकार आफ्नो पार्टी बन्न नहुने बताएका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनले बारम्बार संविधान मिचेको आरोप लगाए । कोशी प्रदेश सरकारबारे सर्वोच्च अदालतले दुईपटकसम्म संविधानविरोधी काम भनेको विषयमा पार्टीको धारणा के हो? भन्दै उनले प्रश्न गरेका थिए ।

गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै उनले यसबारेमा पार्टी ‘क्लियर’ हुनुपर्नेमा जोड दिए ।

“हामी संविधानको रक्षा गर्ने भन्छौँ, तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ । कोसीमा त दुईपटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ?,” उनले प्रश्न गरे, “हाम्रो पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको सिकार हुनु हुँदैन । हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ । त्यसो गरे मात्रै पार्टी स्थापनाको महत्त्व हुन्छ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एकीकृत समाजवादी देशको सबैभन्दा ठूलो दल बन्न सक्ने सम्भवाना भएको पार्टी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्