Logo

गठबन्धन भत्किने सम्भावना छैन: खनाल



धनगढी, २ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्तारुढ गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन् ।

समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् ।

उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको दाबी गरे । खनालले भने, ‘अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन,’ राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझ पूर्ण तरिकाले निर्णय लिनुपर्ने उनको भनाइ छ ।

‘राष्ट्रपतिको निर्वाचन भनेको महत्त्वपूर्ण एजेन्डा हो । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ खनालले थपे, ‘त्यसका लागि सबै पार्टीहरूले राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्