जनकपुरधाम, १० चैत । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।
शुक्रबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले सत्तारूढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने बताए ।
सत्तारूढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो ।
निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीसमेत रहेका उनले मुलुकको अर्थतन्त्र धरापमा परेको दोहोर्याए ।
उनले भने, ‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्ने छैन । राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान पनि छैन । तपाईंहरूले देखिरहनुभएको छ- जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने । सत्तारूढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ । अहिले नै तपाईं देखिरहनुभएको छ- मन्त्रालयको बाँडफाँड गर्न नसक्ने ठाउँमा अवस्थामा यो गठबन्धन पुगिसकेको छ ।’







