Logo

गठबन्धन वर्षौंसम्म आवश्यक छ: देउवा



काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौंसम्म आवश्यक रहेको बताएका छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट आज यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले भने “संविधानको हालको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो छ । तसर्थ पनि मुलुकका लागि गठबन्धन आवश्यक छ । युरोपका कतिपय देशमा पनि यस खालको संस्कृति छ ।”

उनले सबै मिलेर सत्तागठबन्धनलाई सफल बनाउनु पर्नेमा जोड दिए । विगतमा आफू एक्लै निर्वाचनमा जाने रहर गर्दा पराजित भएको तथ्य पेश गर्दै सभापति देउवाले वाम गठबन्धन गरेर एमालेसँग एकता गर्दा माओवादीले दुःख पाएको सुनाए ।

कांग्रेसको केही समयअघि सम्पन्न १४औँ महाधिवेशनले पाँच दलीय गठबन्धनको आवश्यकता महसुस गरी सर्वसम्मतिले यससम्बन्धी प्रस्तावलाई पारित गरेको र केन्द्रीय समितिले पनि यसलाई अधिकार दिएको जानकारी दिए । “अहिले केही परस्पर विरोधी भावना भएकाले बखेडा झिकेका छन् । विगतमा विपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने यसको खिलाफमा छन्”, सभापति देउवाले भने ।

मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ र अर्को महानगर भरतपुर प्रमुखमा महिला उम्मेदवारलाई टिकट दिएर गठबन्धनले राम्रो काम गरेको बताउँदै उनले मतदातासमक्ष विजयी गराउन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्