काठमाडौँ, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको बृहत् असन्तुष्टि रहेको बताएका छन् ।
बुधबार झापामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गरे । उनले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताएका छन् ।
उनले देशले नयाँ कोर्सको माग गरिरहेको बताए । उनले देशका आमजनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरेका थिए ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताए । उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताए । उद्योगबाट आउने राजस्व देशमा वि.सं.१९९५ को भन्दा कम रहेको बताएका हुन् । सो बेलामा नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भए पनि अहिले ५ प्रतिशतभन्दा कम रहेको बताए ।
उनले भने, ‘देशले नयाँ कोर्सको माग गरिरहेको छ । देशका आमजनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । त्यो माग अहिले सर्वत्र व्याप्त छ । सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ। यसले जनतालाई छोएकै छैन । सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन । हाम्रा दुईजना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु?’
पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताए ।





