Logo

गठबन्धन सरकारले मात्रै देशलाई आत्मनिर्भर बनाउँछ: महत



काठमाडौँ, २९ असोज । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन सरकारले मात्रै देशलाई आत्मनिर्भर बनाउने दाबी गरेका छन् ।

शनिवार वाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौँ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । प्रवक्ता महतले गठबन्धन सरकारले देशमा पर्यावरणमैत्री अर्थतन्त्र अघि बढाउने बताए ।

उनले व्यापक विद्युत् उत्पादन बढाई निर्यात र खपत बढाउने, परनिर्भरता समाप्त गर्ने, विद्युतीय सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवर्धन देशभर गर्ने काम गठबन्धनले मात्र गर्ने बताए। उनले देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरू देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यकता भएको जिकिर गरेका थिए ।

उनले भने, ‘देशमा अब समृद्धिको विकल्प छैन। रोजगारीका लागि वैदेशिक निर्भरता अन्त्य गर्नु छ। लगानीका लागि लगानीमैत्री वातावरण आवश्यक छ । त्यसका लागि हामीले गठबन्धन गरेका छौँ । गठबन्धनमा रहेर हामीले निर्वाचन जित्यौँ भने देशले लय समात्छ ।’

प्रतिक्रिया दिनुहोस्