Logo

गठबन्धन सरकार सुशासनको प्रश्नमा असफल देखियो: शङ्कर पोखरेल



सुर्खेत , ८ साउन । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिले देशको आर्थिक अवस्था अत्यन्त नाजुक बनेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकार सुशासनको प्रश्नमा असफल देखिएको बताए ।

आफ्नो स्वार्थका लागि खुलेआम रूपमा सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति बढेको भन्दै महासचिव पोखरेलले वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा आफ्नो दल नरहेको बताए ।

अहिले एमालेका लागि गठबन्धन प्रधान कुरा नभएको बताउँदै उनले चुनावको बेलामा चुनावी तालमेल तत्कालीन रणनीतिक कुरा हो भने । छिटोभन्दा छिटो चुनावको माध्यमबाट गठबन्धनलाई पराजित गर्ने र मुलुकलाई अगाडि बढाउन बलियो राष्ट्रिय शक्तिको रूपमा एमाले सक्षम रहेको उनको भनाई थियो ।

उनले परराष्ट्र नीतिको मामिलामा गठबन्धन सरकार असन्तुलित भएको र स्वार्थका लागि विदेशको प्रयोग गर्न थालेको बताए ।

महासचिव पोखरेलले नेकपा (एमाले) र माओवादीबीचको जनमतको अन्तर निरन्तर फराकिलो बन्दै गएको र माओवादी ओरालो यात्रामा रहेको बताए ।

“२०६४ सालमा माओवादीले ३० प्रतिशत मत पाएको थियो, एमालेले २२ प्रतिशत । यो ठुलो मतान्तर होइन, अहिले एमालेको ३४ प्रतिशत मत छ माओवादीको १२ प्रतिशत छ । यो चाहिँ ठुलो मतान्तर हो ।”, महासचिव पोखरेलले भने ।

महासचिव पोखरेल पार्टीको कर्णाली प्रदेश कमिटीको चौथो बैठकका लागि सुर्खेत आएका हुन् । उनले शनिवार प्रदेश कमिटीको बैठकमा निर्देशनात्मक सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्